Rule 129
घर बिदा
: (१) सशस्त्र प्रहरी कर्मचारीले काम गरेको अवधिको बाह्र दिनको एक दिनका दरले घर बिदा पाउनेछ ।
स्पष्टीकरण : यस उपनियमको प्रयोजनको लागि “काम गरेको अवधि” भन्नाले सो अवधिभित्र लिएको भैपरी आउने, पर्व बिदा, बिरामी बिदा, प्रसूति बिदा, प्रसूति स्याहार बिदा, किरिया बिदा र सार्वजनिक बिदाको अवधि समेत सम्झनु पर्छ ।
(२)  सशस्त्र प्रहरी कर्मचारीले आफूले पकाएको घर बिदा एकसय असी दिनसम्म सञ्चित गरी राख्न पाउनेछ ।
(३) सशस्त्र प्रहरी कर्मचारी कुनै कारणले सेवाबाट अलग भएमा निजको सञ्चित रहेको घर बिदा बापत निजको पदाधिकार रहेको पदबाट खाइपाइ आएको तलबको दरले हुन आउने रकम एकमुष्ट रुपमा लिन पाउनेछ ।
(४) सञ्चित रहेको घर बिदाको रकम लिन नपाउँदै कुनै सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा त्यस्तो सञ्चित घर बिदाको रकम नियम ७४ को उपनियम (५) बमोजिमको व्यक्तिले एकमुष्ट रुपमा लिन पाउनेछ ।
(५) घर बिदा वा अध्ययन बिदा लिएको र निलम्बनमा रहेको अवधि सशस्त्र प्रहरी कर्मचारीले पाउने घर बिदाका प्रयोजनको लागि गणना गरिने छैन ।
(६) सञ्चित भएको घर बिदा भुक्तान गरिसकेको सशस्त्र प्रहरी कर्मचारीलाई कुनै दैवी घटना परी निजको आफ्नो परिवारको कुनै सदस्यको जिउज्यान वा आफ्नै सम्पत्तिमा कुनै ठूलो क्षति पुग्न गएमा वा अरु पर्याप्त कारण परेमा अर्काे वर्ष पाउने घर बिदाबाट कट्टा हुने गरी बढीमा तीस दिनसम्मको पेश्की घर बिदा दिन सकिनेछ ।
(७) सञ्चित भएको घर बिदा र बिरामी बिदा भुक्तान गरिसकेको सशस्त्र प्रहरी कर्मचारी लामो अवधिसम्म बिरामी परेमा अर्को वर्षको पाउने घर बिदाबाट कट्टी हुने गरी बढीमा तीस दिनसम्मको पेश्की घर बिदा दिन सकिनेछ ।
(८)  सशस्त्र प्रहरी कर्मचारीले वर्षको एकपटक कम्तीमा सात दिन घर बिदा लिई घर जाँदा र घर बिदा भुक्तान गरी घरबाट आफ्नो कार्यालयमा आउँदा पैदलको बाटोलाई आठ कोषको निमित्त एक दिनको दरले हुने दिन तथा मोटर, रेल, हवाईजहाजको बाटोलाई जति दिन लाग्ने हो त्यति दिन बाटोको म्याद पाउनेछ ।
(९) घर बिदामा बसेका सशस्त्र प्रहरी कर्मचारीले सो अवधिको पुरा तलब भत्ता र रासन
पाउनेछ ।